समाज
Sept. 28, 2024, 3:42 p.m.
168
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिनका लागि बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा विद्यालयका भवनहरूको आकस्मिक व्यवस्थापन आवश्यक भएकाले भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको हो।
मन्त्रालयले भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विद्यालय र विश्वविद्यालयका संरचनामा क्षति पुगेको जनाएको छ। साथै, विद्यार्थी र अभिभावक पनि प्राकृतिक प्रकोपबाट प्रभावित भएको भन्दै यस विपद् व्यवस्थापनका लागि तदारुकताका साथ काम गर्नुपर्ने उल्लेख गरिएको छ।
कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनमा सरकारी र गैरसरकारी क्षेत्र, नागरिक समाज लगायत सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको निर्णय गरेको छ। शैक्षिक संस्थाका परीक्षा पनि हाललाई स्थगित गर्न भनिएको छ, र अनुकूल समय आएपछि मात्र सञ्चालन गर्न भनिएको छ।