राजनीति

बाँकेमा विप्लव नेतृत्व नेकपाद्वारा ६ बिघा धानको कटाई सम्पन्न , आत्मनिर्भरता अभियान लाई अझ तीब्र बनाउदै

Nov. 8, 2024, 2:42 p.m.

187

बाँकेमा विप्लव नेतृत्व नेकपाद्वारा ६ बिघा धानको कटाई सम्पन्न , आत्मनिर्भरता अभियान लाई अझ तीब्र बनाउदै

बाँके,  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँके जिल्ला समितिले खजुरा गाउँपालिका क्षेत्रमा ६ बिघा जमिनमा रोपेको धानको फसल काटेर सफलतापूर्वक सम्पन्न गरेको छ। "आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर पार्टी र आत्मनिर्भर देश" भन्ने नाराका साथ विप्लव नेतृत्व नेकपाले मुलुकभर कृषिमा उत्पादन वृद्धि गर्ने नीति अवलम्बन गरेको छ।

बाँके जिल्लाको खजुरा क्षेत्रमा रोपिएको उक्त धान रोपण कार्यक्रम कर्णाली प्रदेश समिति र बाँके जिल्ला समितिको संयुक्त पहलमा भएको थियो। पार्टी प्रवक्ता एवम् पूर्व पर्यटनमन्त्री प्रकाण्डको प्रमुख उपस्थितिमा धान रोपण गरिएको भए पनि फसल काट्ने समयमा मङ्सिर ८ गते पार्टी पुनर्स्थापना दिवसको कार्यक्रम व्यवस्थापनमा संलग्न रहेका कारण उहाँ उपस्थित हुन सक्नुभएन ।

धान काट्ने कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेश इन्चार्ज एवम् संविधानसभाका सांसद माननीय कर्णजित बुढाथोकी हुनुहुन्थ्यो । विशेष अतिथिमा पार्टी पोलिट्ब्युरो सदस्य एवम् बाँके जिल्ला इन्चार्ज कमरेड रक्तिम सि, पार्टी केन्द्रिय सदस्य विराट सि, केन्द्रिय सदस्य समीर सि,  जिल्ला सचिव कल्पना सि, केन्द्रिय प्रतिनिधि सदस्य मदन सि लगायत जिल्ला स्तरका नेताकार्यकर्ता सहभागी भएका थिए ।

बाँके जिल्ला सचिव कल्पना सि ले हाम्रो मिडियालाई जानकारी दिँदै, "अब धान काटिसकेपछि कुन बाली लगाउने भन्ने विषयमा पार्टी बैठक बसेर निर्णय गरिनेछ" भनेर भन्नू भएको छ । उहाँ ले आत्मनिर्भर अभियानलाई निरन्तरता दिने लक्ष्यसाथ विभिन्न मौसमअनुसार कृषि उत्पादनलाई प्राथमिकता दिने योजनामा पार्टी रहेको बताउनु भएको छ । 

यसै क्रममा पार्टीका महासचिव कमरेड विप्लव सि पनि कपिलवस्तु जिल्लामा लगाइएको धान काट्ने कार्यमा व्यस्त हुनुहुन्छ । पार्टीले देशका विभिन्न भूभागहरूमा कृषिलाई आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले उत्पादनमा सामूहिक सहभागिता सुनिश्चित गर्दै आएको छ, जसले पार्टीका नेताकार्यकर्तालाई आर्थिक रूपमा सबल बनाउने विश्वास लिएको छ।

पार्टीको यो अभियानलाई स्थानीय समुदायले सकारात्मक रूपमा ग्रहण गरेको देखिएको छ । त्यहाँ का स्थानीय ले यसैगरी सबै पार्टीको नेताकार्यकर्ता आत्मनिर्भर निति लिए देशमा भ्रष्टाचार नहुने र देशपनी आत्मनिर्भर हुने बताएका थिए । 

 

अन्य समाचार