राजनीति
Nov. 24, 2024, 3:31 a.m.
124
मङ्सिर ८ गते बागमती प्रदेशमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्निर्माण दिवसको अवसरमा भव्य शक्ति प्रदर्शन गर्दै महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्यो। यस कार्यक्रममा हजारौं सर्वसाधारण, पार्टीका नेताकार्यकर्ता, युवा, बुद्धिजीवी र समर्थकहरूको उल्लेखनीय उपस्थिति देखियो।
कार्यक्रमले बागमतीमा राजनीतिक माहोल तताउनुका साथै नेकपाको शक्ति प्रदर्शनलाई थप सुदृढ बनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले ऐतिहासिक घोषणा गर्नुभयो। उहाँले २०८४ सालको आमनिर्वाचन नेकपाले एक्लै लड्ने प्रतिबद्धता जनाउनुभयो। तर उहाँले चुनावमा सहभागी हुने वातावरण बनाउन अपिल गर्दै पार्टीका नेताकार्यकर्तामाथि झुटा मुद्दा नलगाउन सरकारलाई चेतावनी दिनुभयो।
विप्लवले जनताको दबाबलाई सम्बोधन गर्दै भन्नुभयो, "युवा जनमत, बुद्धिजीवी, र मध्यम वर्गले बारम्बार अबको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्। यो जनताको आवाजको सम्मान गर्दै २०८४ को चुनाव लड्ने निर्णय गरेका छौं। चुनाव हाम्रो लागि नयाँ मोर्चा हुनेछ, जसले जनताको आत्मनिर्भरता र स्वाभिमानको सुनिश्चितता गर्नेछ।" कार्यक्रममा पार्टीको आगामी योजनाबारे पनि चर्चा गरियो। विप्लवले अबको चुनाव देशको आर्थिक र राजनीतिक अन्याय अन्त्य गर्ने क्रान्तिकारी अवसरका रूपमा लिने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमका सहभागीले नेताको जोशिलो सम्बोधनबाट प्रेरित हुँदै पार्टीको विचारप्रति झनै विश्वास व्यक्त गरेका छन्।
नेकपाको यो शक्ति प्रदर्शनले पार्टीले चुनावी रणनीतिमा प्रवेश गरेको स्पष्ट सन्देश दिएको छ। आगामी दिनमा पार्टीले चुनावी तयारीलाई तीव्रता दिने र जनताको बलियो समर्थनसहित क्रान्तिकारी मार्गमा अघि बढ्ने घोषणा गरेको छ।