बजार

बैजनाथ - ५ को स्वास्थ चौकीमा औषधिको अभाव

Dec. 17, 2024, 1:29 p.m.

160

बैजनाथ - ५ को स्वास्थ चौकीमा औषधिको अभाव

बैजनाथ गाउँपालिका वडा नं. ५ स्थित स्वास्थ्य चौकीमा औषधि अभावका कारण स्थानीय जनता गम्भीर समस्यामा परेका छन्। विशेष गरी प्रेसर र सुगरका बिरामीहरूले अत्यधिक कठिनाइ झेल्नु परिरहेको छ। औषधि अभावको कारणले जनतालाई दैनिक रूपमा अस्पताल धाउनुपर्ने, निजी क्लिनिक जानुपर्ने, वा औषधि किन्न परेपछि आर्थिक भार थपिएको छ।
                 
             फोटो : औसधि लिदै बिरामी 

आज हाम्रो टोलीले कुनै परिचय नदिई सो स्वास्थ्य चौकीमा स्थलगत अनुगमन गरेको थियो। सोधपुछको क्रममा स्वास्थ्य चौकीका कर्मचारीहरूले प्रेसर र सुगरका औषधि नभएको स्वीकार गरेका थिए। साथै, केही दिनभित्रै औषधि उपलब्ध हुने बताएका थिए। तर, सेवाग्राहीहरूसँगको कुराकानीमा केही दिनअघिदेखि नै "भोलि औषधि आउँछ" भन्ने आश्वासन मात्र दिइँदै आएको र वास्तविक रूपमा अझै ३-४ दिन औषधि नआउने भनिएको खुलासा भएको छ।

यसले स्थानीय जनतामा गम्भीर असन्तोष सिर्जना गरेको छ। बैजनाथ गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गत पर्ने यस स्वास्थ्य चौकीमा महिनौंसम्म औषधिको आपूर्ति नियमित नहुँदा, यो विषयमा लापरवाही भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्वास्थ्य क्षेत्रको प्रमुख जिम्मेवारी भनेकै बिरामीलाई समयमै उपचार सेवा र औषधि उपलब्ध गराउनु हो। तर, वडाभरका बिरामीहरूलाई सेवा दिने जिम्मेवारीमा रहेको स्वास्थ्य चौकीले आपूर्ति व्यवस्थापनमा ध्यान नदिनु अत्यन्तै दुर्भाग्यपूर्ण र लज्जास्पद भएको उनीहरूको धारणा छ।

विगतमा पनि यो स्वास्थ्य चौकीमा औषधि र सेवाको नियमिततामाथि प्रश्न उठ्दै आएका थिए। तर, समस्या समाधानका लागि गाउँपालिका र सरोकारवाला निकायहरूले ठोस कदम चाल्न नसकेको स्थानीयको आरोप छ। "हामी बिरामी हुँदा यहाँ आउँदा औषधि छैन भनेर फर्किनुपर्छ। स्वास्थ्य सेवा भनेको सर्वसाधारणको अधिकार हो। तर यहाँ हप्तौंसम्म औषधि अभाव हुँदा पनि कसैले चासो लिँदैन," एक स्थानीय बिरामीले भने।

यस प्रकारको अवस्थाले स्वास्थ्य क्षेत्रमा पालिकाको भूमिकामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। स्वास्थ्य चौकी र पालिकाको समन्वय अभावकै कारण जनताले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु विडम्बनापूर्ण हो। गाउँपालिकाले यथाशीघ्र यस समस्याको समाधान गर्दै औषधिको आपूर्ति व्यवस्थापनमा सुधार गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको एक स्थानीय युवा ले हाम्रो अनलाइन समाचार लाई बताएका छन । उनले थप्दै भने " यदि तत्काल सुधारका प्रयास गरिएन भने, यो लापरवाहीले जनताको स्वास्थ्यमाथि गम्भीर प्रभाव पर्नेछ " ।

स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो। तर, यसरी लामो समयसम्म औषधि अभाव रहँदा स्थानीय सरकारको उत्तरदायित्वमाथि थप प्रश्न उठ्ने देखिन्छ। जनताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई जवाफदेही बनाउने र भविष्यमा यस्ता समस्याको पुनरावृत्ति रोक्न कडा कदम पालिकाको स्वास्थ्य शाखाले यथाशीघ्र चाल्नु पर्ने देखिएको छ । 

अन्य समाचार