समाज
Sept. 30, 2024, 1:23 p.m.
188
२०८१ असोज १४ गते
बाँके जिल्लाको ढकेरीस्थित जनयुद्धका सहिदहरू दिर्गराज शाही र शेरजङ्ग शाहीको २२ औं स्मृति सभा उहाँहरूकै घरमा सम्पन्न भएको छ। २२ वर्षअघि, तत्कालीन शाही नेपाली सेनाले उहाँहरूको घरनजिकैको जंगलमा हत्या गरेको थियो, जसलाई स्मरण गर्दै यो कार्यक्रम आयोजना गरिएको हो। जनयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका यी सहिदहरूको योगदानलाई सम्मान दिनु आजको युगमा अझै आवश्यक रहेको सबै वक्ताहरूले जोड दिए। कार्यक्रममा प्रमुख अतिथि र वक्ताहरूको उपस्थिति थियो, जसमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मञ्जु रोकाया, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य माननीय पट्टु थारु, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सल्यान जिल्ला सचिव अनिल सी, बाँके जिल्ला सचिव कल्पना सी, सहिद दिर्गराज शाहीको दिदी एवम् नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय प्रतिनिधि सदस्य पूर्णिमा सी, सहिदका पिता एवम् नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला सल्लाहकार समितिका अध्यक्ष डम्बर बहादुर शाही, सहिदकी आमा, अखिल (समाजवादी) का केन्द्रीय सदस्य एवम् बाँके जिल्ला संयोजक सागर सेन सी, लगायत स्थानीय जनताहरूको ठूलो उपस्थिति थियो।
स्मृति सभामा बोल्दै मञ्जु रोकायाले हाल केही व्यक्तिहरू र समूहहरूले जनयुद्धलाई ‘हिंसात्मक युद्ध’को रूपमा व्याख्या गर्न खोजिरहेकोमा आफ्नो असन्तोष प्रकट गरिन्। उनले भनिन्, “यस्ता तत्वहरूले जनयुद्धलाई मात्र होच्याउने प्रयास गरिरहेका छन्, तर उनीहरूको षड्यन्त्रलाई जनताले अस्वीकार गरिसकेका छन्। जनयुद्ध कुनै पनि सामान्य राजनीतिक गतिविधि थिएन, यो प्रतिक्रियावादी राज्यसत्ता विरुद्ध जनताको स्वतन्त्रताको लागि लडिएको महाकाव्य थियो।” उनका अनुसार जनयुद्धले न केवल राजनीतिक प्रणालीलाई परिवर्तन गर्यो, तर नेपाली समाजमा न्याय र समानताको मुद्दा स्थापित गर्न ठूलो योगदान पुर्यायो। “यद्यपि हामीले पूर्ण रूपमा जनताको सत्ता स्थापना गर्न सकेका छैनौं,” उनले भनिन्, “तर हालसम्म प्राप्त उपलब्धिहरूको सम्पूर्ण श्रेय माओवादी आन्दोलनलाई नै जान्छ।” रोकायाले माओवादी नेतृत्वको सरकारको समयलाई सम्झदै भनिन् कि त्यतिबेला भ्रष्ट तत्वहरू डराएका थिए, तर अहिले ती फेरि मौलाएर जनताको समृद्धिमा अवरोध खडा गरिरहेका छन्। उनले जोड दिँदै भनिन्, “अब आउने ८४ को निर्वाचनमा जनताले यी भ्रष्टहरूलाई पत्तासाफ गर्नेछन्। माओवादीको नीति र कार्यक्रमले जनतालाई फेरि एकपटक जित्न मद्दत गर्नेछ।
सभामा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेकी सचिव कल्पना सीले बोल्दै, माओवादी जनयुद्धको उपलब्धिहरूलाई आजसम्म पनि कांग्रेस र एमालेले स्विकार्न नसकेको आरोप लगाइन्। उनले भनिन्, "हाम्रो बलिदानले ल्याएको यो परिवर्तनलाई यी दलहरूले सधैं अस्वीकार गरेका छन्। उनीहरूका लागि जनयुद्धले ल्याएको उपलब्धि स्वीकार्य छैन, तर उनीहरू आफूले केही नगरेको भए पनि माओवादीले ल्याएको यो व्यवस्थाको फाइदा उठाइरहेका छन्।” उनले भने, “अहिले माओवादी एकता को चर्चा चलेको छ, जुन सकारात्मक संकेत हो, तर यो एकता यति सहजै हुने कुरा छैन। जबसम्म यो व्यवस्था, जसले सहिद र बेपत्ता परिवारको अधिकार सुनिश्चित गर्न सक्दैन, स्वीकार गरिन्छ, तबसम्म एकताको अर्थ हुन्न।” कल्पना सीले सहिद परिवारहरूको अधिकारका लागि लड्न अझै पनि संघर्ष जारी राख्नुपर्ने आवश्यकता रहेको बताउँदै भनिन्, “यो संघर्ष सहिदहरूको सपना पूरा गर्ने संघर्ष हो, जुन संघर्ष अहिलेको व्यवस्था भित्र पूरा हुन सक्दैन। यसैले हामीले सहिदहरूको बलिदानको सही मूल्याङ्कन गर्नुपर्छ, र यो मूल्याङ्कन माओवादी एकता र जनताको पक्षमा लडाइँको माध्यमबाट मात्र सम्भव छ।
कार्यक्रममा बोल्दै माननीय पट्टु थारुले माओवादीले लडेर ल्याएको व्यवस्थाको महत्वपूर्ण पक्षहरूलाई उजागर गरे। उनले सहिद दिर्गराज शाही र शेरजङ्ग शाहीजस्ता महान सहिदहरूको बलिदानबिना यो व्यवस्था सम्भव नहुने बताउँदै, सहिदहरूको योगदानलाई कुनै हालतमा नजरअन्दाज गर्न नहुने धारणा राखे। पट्टु थारुले भने, “कांग्रेस र एमालेले आज माओवादीलाई होच्याउने प्रयास गरिरहेका छन्। उनीहरू माओवादी आन्दोलनलाई कमजोर देखाउन चाहन्छन्, तर वास्तविकता भने माओवादीको बलिदान र संघर्षले नै यो देशमा परिवर्तन ल्याएको हो। कांग्रेस र एमाले भनेका त हिजो राजाले एकलौटी शासन गर्न खोज्दा माओवादीको साथ खोज्दै रोल्पा आएका थिए। हामीले संविधान सभाको निर्वाचनमा पूर्ण बहुमत प्राप्त गर्न सकेको भए, अहिले माओवादीले चाहेको व्यवस्था पूर्णरूपमा स्थापित भइसक्ने थियो।" तर उनले वर्तमानमा पनि माओवादी एकता कायम गरि जनता समक्ष सही मुद्दा प्रस्तुत गर्न सके माओवादी फेरि बहुमत ल्याउन सक्षम हुने विश्वास व्यक्त गरे।
सभाको अन्त्यमा प्रमुख अतिथि अनिल खड्काले आफ्नो मन्तव्य राख्दै, सहिदहरू दिर्गराज शाही र शेरजङ्ग शाही अब केवल माओवादीको सहिद नभई देशकै सहिद भएको बताए। उनले भने, “यी सहिदहरूले आफ्नो जीवन आहुति दिएर जनताको लागि बलिदान गरेका हुन्। उहाँहरू पार्टीका सहिद मात्र होइन, देशकै इतिहासमा अमर सहिद हुनुभएको छ। यसका लागि हामीले पूर्व प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुपर्छ, जसले सहिदहरूको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान दिलाए।” अनिल खड्काले ढकेरीको ऐतिहासिक भूमिकाको चर्चा गर्दै, “बलिदान गर्न तयार हुने व्यक्तिहरू साधारण होइनन्, उनीहरू देशप्रति अगाध माया राख्ने, र गम्भीर सोच राख्ने व्यक्ति हुन्। ढकेरी, जसले जनयुद्धमा ठूलो बलिदान दिएको छ, अब देशकै ऐतिहासिक महत्वको स्थल बनेको छ,” भने। उनले माओवादीका सबै ध्रुवहरूलाई एक भएर सहिदहरूको सपना पूरा गर्नुपर्नेमा जोड दिए। “जनयुद्धको बलिदान र उपलब्धिहरूलाई निरन्तरता दिन माओवादीको एकता र दृढ संघर्ष आवश्यक छ,” खड्काले भने।