बजार

बैजनाथमा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त जनयुद्ध दिवस मनाउने

Feb. 12, 2025, 3:34 p.m.

181

बैजनाथमा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त जनयुद्ध दिवस मनाउने

बैजनाथ, फागुन १ – नेकपा (माओवादी केन्द्र) बैजनाथ गाउँ कमिटी र नेपाल कम्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटीले ३०औं जनयुद्ध दिवस संयुक्त रूपमा मनाउने भएका छन्। बैजनाथ गाउँपालिका–५, जी गाउँमा बसेको दुवै दलको संयुक्त बैठकले उक्त निर्णय पारित गरेको हो।

बैठक अनौपचारिक रूपमा बसे पनि ऐतिहासिक महत्वको यो दिवस साझा रूपमा मनाउने सहमति जुटेको छ। कार्यक्रमको प्रारम्भ बिहान सरसफाइ अभियानबाट गरिनेछ भने साँझ दीप प्रज्वलनसहित कोणसभा आयोजना गरिनेछ। नेकपा (माओवादी केन्द्र) बैजनाथका अध्यक्ष जयबहादुर विक 'प्रदिप' ले जानकारी दिँदै भने, "यो कार्यक्रम माओवादी आन्दोलनको गौरवशाली इतिहासलाई स्मरण गर्ने मात्र होइन, एकता र सहकार्यको सन्देश दिन पनि महत्वपूर्ण हुनेछ।"

शान्ति प्रक्रियामा आएपछि माओवादी आन्दोलन विभिन्न चरणमा विभाजन हुँदै आएको थियो। पार्टी विभाजनपछि माओवादी घटकहरूबीच तिक्तता मात्रै होइन, आफ्नो ऐतिहासिक संघर्षप्रति गर्व गर्ने प्रवृत्ति पनि देखिएको छ। यद्यपि, हालको परिस्थितिमा माओवादी घटकहरूको एकता आवश्यक रहेको निष्कर्षसहित यो कार्यक्रमको आयोजना गरिएको हो।

बैजनाथमा लामो समयपछि दुवै दलको संयुक्त सहभागिता रहेको यस्तो कार्यक्रम पहिलो पटक हुन लागेकोले यसलाई राजनीतिक रुपमा विशेष महत्वका साथ हेरिएको छ। स्थानीय स्तरमा एकताको पहल गर्दै अगाडि बढ्न यो कार्यक्रम माओवादी आन्दोलनका लागि सकारात्मक कदम बन्ने अपेक्षा गरिएको छ।

स्थानीय कार्यकर्ताहरूका अनुसार, "यो संयुक्त प्रयासले आपसी एकता बढाउने मात्र होइन, भविष्यमा ठूला राजनीतिक निर्णयहरूलाई समेत प्रभाव पार्न सक्छ।" कार्यक्रमलाई सफल बनाउन स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा आम जनसमुदायको सहभागिता सुनिश्चित गरिने जनाइएको छ।

अन्य समाचार