राजनीति
Sept. 24, 2024, 10:57 a.m.
90
चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । उजुरी दिनेहरूका अनुसार आफूहरूले बचत गरेको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रूपैयाँ सहकारीले फिर्ता गरेको छैन । सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ रहेको र कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
साहारा सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएकोले त्यसबारे पुन: अनुसन्धान गरेर पुरक प्रतिवेदन पेस गर्न चितवन जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको छ ।
सहकारीको बचत अपचल गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरेको र अदालतले कारागार चलान गरेका कुमार रम्तेललाई मात्रै चितवन झिकाएर प्रहरीले बयान लिएको थियो । अन्य १६ मध्ये ११ जना फरार, ३ जना कारागारमा रहेको र ३ जना अनुपस्थित रहेको भनी मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले साहारा सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रूपैयाँ बराबरको कारोबार के-कसरी, को-कोसँग भएको हो ? सोको विवरण प्राप्त भएको नदेखिएकाले त्यसबारे अनुसन्धान अघि बढाउन चितवन प्रहरीलाई निर्देशन समेत दिएको छ ।